जबरासँगको बयान भोलि फेरि लिइने

0
64

१५ भाद्र २०७९

काठमाडौं ।

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ आज बुधवार बयान नसकिएपछि थप बयान भोलि लिने निर्णय भएको समितिले जनाएको छ । समितिको अर्को बैठक भोलि बिहान ११ बजे फेरि बस्नेछ ।

बुधबारको समिति बैठकमा सांसदहरूले जबरासँग न्याय सम्पादनमा भएका कमीकमजोरीबारे प्रश्न सोधेका थिए । जबरा कडा ढंगले प्रस्तुत भए । उनले आफूविरुद्ध लगाइएको महाअभियोगको औचित्य समाप्त भइसकेको तर संसद्को गरिमाको ख्याल गरेर बयानका लागि उपस्थित भएको बताए ।

जबराले आफूलाई हटाएर दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन लागेकोसमेत दाबी गरे । न्यायालयलाई राजनीतिमा तान्ने काम दलहरूले नै गरेको उनको आरोप छ । आफूले गरेका सबै फैसला र अदालती काम संविधानले दिएको अधिकार र न्यायालयको मर्यादाअनुसार नै भएको जबराको दाबी छ ।

महाअभियोग सिफारिस समितिले लिखित र मौखिक गरी जबरासँग ४३ वटा प्रश्नावली तयार पारेको थियो । उनीविरुद्ध गत १ फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

Google search engine