१६ भदौ २०७९
काठमाडौं ।
निलम्बित प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ ।
हिजो बुधवार महाभियोग सिफारिस समितिको चार वटा प्रश्नको जवाफ दिएका राणाले आज बिहीवार दुई वटा प्रश्नको जवाफ दिएका हुन् । अब उनलाई बयान लिनका लागि १९ गते आइतवार ११ बजे पुनः समितिमा बोलाइएको छ ।
जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको छ । बयानको पहिलो दिन हिजो ४३ प्रश्नमध्ये चार प्रश्नमा मात्रै छलफल भएको थियो । हिजोको बयानका क्रममा उनले राजनीतिक दल, बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र नेपाल बारका पदाधिकारीले प्रतिशोध साँधेको आरोप लगाएका थिए ।
समितिले जबरासँग दोस्रो दिन बयान लिने क्रममा सोधेको प्रश्नको जवाफ दिने क्रममा राणाले घुमाउरो र समिति तथा संसद्माथि नै प्रश्न उठाएका छन् ।
सात महिनादेखि निलम्बनको अवस्थामा रहेका उनीमाथि महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल भएको हो ।