कांग्रेस ट्रेड युनियनकर्मी छलफल

0
35

काभ्रे ।

नेपाली कांग्रेस काभ्रेले जिल्लामा क्रियाशिल ट्रेड युनियनकर्मीसंग छलफल गरेको छ । जनताको साथमा कांग्रेस अभियान अन्तर्गत कांग्रेसले नेपाल ट्रेड युनियन कांग्रेसमा आवद्ध संघसंग अभियानको सन्दर्भमा छलफल गरेको हो ।

नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य रमा कोइराला पौडेल, कांग्रेस जिल्ला सभापति तिर्थ लामा, वाग्मती प्रदेश कार्यसमिति सदस्य समेत रहेकी नेपाल व्युटिसियन संघकी केन्द्रीय अध्यक्ष भगवती खड्का, कांग्रेस जिल्ला सचिव गुणराज मोक्तान, माधव ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी, सहसचिव समिर व्याञ्जु श्रेष्ठ, ट्रेड युनियन शाखा प्रमुख रहेका जिल्ला सदस्य सन्तोष गौतम, प्रचार प्रसार शाखा प्रमुख रहेकी जिल्ला सदस्य सुनिता तामाङ लगायतको उपस्थितीमा भएको छलफलमा अभियानलाई सफल बनाउन ट्रेड युनियन कांग्रेसले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भएको छ ।

केन्द्रीय सदस्य कोइरालाले ट्रेड युनियन कांग्रेसमा आवद्ध सबै संघलाई क्रियाशिल बनाएर आसन्न प्रतिनिधि र प्रदेश सभा  निर्वाचनमा परिचालन गर्नुपर्ने बताइन् । संगठन कमजोर रहेको क्षेत्रमा मिहेनत गर्न अनुरोध गर्दै उनले पार्टी जिताउन सबै लाग्नुपर्ने बताइन् । कांग्रेस जिल्ला सभापति तिर्थ लामाले ट्रेड युनियनको संगठन बलियो भए मात्रै कांग्रेस बलियो हुने भन्दै त्यसतर्फ ध्यान दिन अनुरोध गरे । वाग्मती प्रदेश कार्यसमिति सदस्य भगवती खड्काले हरेक आन्दोलन र निर्वाचनमा ट्रेड युनियनकर्मीले भुमिका खेलेको भन्दै आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पनि यस्तै भुमिकाको अपेक्षा गरिन् ।

‘जनताको साथमा कांग्रेस’ अभियानको लागि काभ्रे खटिएकी केन्द्रीय सदस्य रमा कोइरालाका अनुसार, जिल्लामा भदौ १० गते शुभारम्भ भएको अभियान अन्तर्गत प्रतिनिधि सभाको दुवै र प्रदेश सभाका ४ वटै निर्वाचन क्षेत्रमा कार्यक्रम भएका छन् । नमोबुद्ध नगरपालिका , रोशी, तेमाल, महाभारत गाउँपालिकामा अभियान अन्तर्गत कार्यक्रम भएका छन् भने पनौती नगरपालिका, चौरीदेउराली र खानीखोला गाउँपालिकामा कार्यक्रम तय भएका छन् । मण्डन देउपुर नगरपालिका, भुम्लु गाउँपालिकाले कार्यक्रम गरेका छन् भने बनेपा, धुलिखेल, पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिकामा तय भएका छन् ।