२२ भदौ २०७९
काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध दर्ता भएको किशोरी बलात्कारसम्बन्धी उजूरीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। बलात्कारसम्बन्धी उजुरीमाथि प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्तरुपमा अनुसन्धान सुरु गरेको हो।
प्रहरीले उजूरीमा उल्लेख गरिएको होटलका सीसीटीभी फुटेजको समेत अनुसन्धान गर्ने प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । मैनालीका अनुसार लामिछानेमाथि किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरी वृत्त गौशालामा उजूरी दर्ता भएको हो।
उजूरीमा स्याङ्जाको आरुचौर गाउँपालिका स्थायी घर भएर काठमाडौं बूढानीलकण्ठ बस्ने लामिछानेले भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न होटलमा पीडितलाई लगेको उल्लेख छ। होटलमा लगेर राति पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ।
लामिछानेविरुद्ध उजूरी दर्ता भएपछि पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षण गराएको प्रहरीले बताएको छ।