चार वस्तुको आयात प्रतिबन्ध मंसिरसम्म लम्बियो

0
40
फाइल तस्विर

२८ असोज २०७९,
काठमाडौं ।

सरकारले महँगा गाडी, मोटरसाइकल, जाँड–रक्सी र मोबाइल फोनमा लगाएको प्रतिबन्धलाई मङ्सिर २९ गतेसम्मका लागि लम्ब्याएको छ । आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गएको वैशाख १३ गते राजत्रपमा सूचना प्रकाशन गरी कार, जीप, भ्यान, एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, तयारी जाँड–रक्सी र तीन सय डलरभन्दा महँगा मोबाइल फोन आयातमा कडाइ गरेको थियो ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्राध्यापक डा. गोविन्द केसीसँग गएको असोज ८ गते भएको सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय पनि कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले नेपाली सेनाका वियनम १७७५, सहायकी रथी श्री विजय थापाको पदावधि २०८०/६/०१ सम्म थप गर्ने निर्णय गरेको छ ।

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको कार्य अवधि समाप्त मिति आउँदो कात्तिक ११ गतेदेखि लागू हुने गरी एक वर्ष थप गर्ने, विभिन्न देशका ३७ जना विदेशी नागरिकले बुझाउनुपर्ने भिसा दस्तुर विलम्ब शुल्क र जरिबानाबापतको रकम मिनाहा गरी तीन महिनाभित्र नेपाल छोड्न प्रस्थान अनुमति दिनेलगायतका निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।