३० असोज २०७९,
काठमाडौं ।
संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उनको १ सय ३ वर्षको उमेरमा आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।
जोशीको छातीमा निमोनिया सङ्क्रमण देखिएको थियो । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेङ्गी सङ्क्रमण देखिएपछि जोशी २४ दिनदेखि किष्ट अस्पतालमा उपचारत थिए । स्वास्थ्य अवस्था केही सुधार भएपछि गएको बुधवार आईसीयूबाट क्याबिनमा सारिएकोमा उनलाई फेरि आईसीयूमै राखेर उपचार हुँदै आएको थियो ।
ललितपुरको बखुम्बहालमा १९७७ साल वैशाखमा जन्मिएका जोशी तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुन् । उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।
उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् ।
२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो ।