कोशीपारीको विकासको जिम्मा हामी लिन्छौंः नेता शिव हुमागाई

0
42

४ कात्तिक २०७९,
चौबास, काभ्रे ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ का लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता शिव प्रसाद हुमागाईले कोशीपारीको समग्र विकासको जिम्मा अब बन्ने लोकतान्त्रिक–बाम गठबन्धनको सरकारले लिने बताएका छन् ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको वडा नं. ४ स्थित चौवासमा लोकतान्त्रिक बाम गठबन्धनले आज शुक्रबार आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता हुमागाईले विकासका पूर्वाधारको जग बसालिसकेको हुनाले अन्य आवश्यक विकास योजना अब बन्ने सरकारले जिम्मा लिने बताए ।

चौबासलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न होटल रिसोर्ट चलाउन आवश्यक छ भनेर धेरै अगाडी कल्पना गरेको भएपनि मोटरबाटो, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका पूर्वाधार नबेनका कारण विकास हुन नसकेको बताउँदै उनले अब आवश्यक थप पूर्वाधार निर्माण गर्नेदेखि विकासको लागि बाम लोकतान्त्रिक गठबन्धनले जिम्मा लिने बताए । ‘पाँच बर्षका कार्यकालमा यो क्षेत्र काभ्रेको उत्कृष्ट पर्यटकीय केन्द्र बन्नका लागि सबै प्रकारको भौतिक पूर्वाधार निर्माण हुनेछ ।’ उनले भने, ‘जसबाट यहाँ उत्पादन हुने तरकारीदेखि साना–साना पसल राखेर आयआर्जन गर्न पाउने भएपछि यहाँका नागरिकको आर्थिक स्तरमा बृद्ध भई गाउँको मुहारमा समेत परिवर्तन आएको महसुश हामी गराउँछौं ।’ उनले जनताको समस्याको भारी बाम–लोकतान्त्रिक गठबन्धनले बोक्न तयार रहेको बताए ।

कार्यक्रममा क्षेत्र नं. २ प्रदेश सभा (क) का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का नेता लक्ष्मण लम्सालले वितेको पाँच बर्षमा चौबासलाई विकास निर्माणको पहिलो प्राथमिकतामा राखेर आयोजनाहरु अगाडी सारेको बताउँदै त्यसको प्रतिफल स्वरुप भुम्लुटार हुँदै पिच शुरू भैरहेको जानकारी दिए । त्यो पिच चौबाससम्म ल्याउने गरी प्रक्रिया अघि बढेको बताउँदै उनले चौबासबासीले मुख्य सडक पिचमा यात्रा गर्नका लागि धेरै समय कुर्न नपर्ने दाबी गरे ।

लम्सालको पहलमा त्यहाँका सेती मा.वि. को घेराबार, चौबास डिपबोरिङ खानेपानी आयोजना सम्पन्न गरिसकेको छ भने काब्रे कोड्का मोटरबाटो, डेगाल खानेपानी, ओख्रेपोखरी खानेपानी आयोजनाको लागि बजेट विनियोजन भएर काम अघि बढेको छ ।

कार्यक्रममा समानुपातिक उम्मेदवार रूकु चौलागाईं, कल्पना श्रेष्ठ, मिना तामाङ, लक्ष्मी दनुवार, शान्ता क्षेत्री, तेज बहादुर मिजार सहभागी भएका थिए । त्यसैगरी गठबन्धनका स्थानीय र जिल्ला स्तरीय नेताहरु सहभागी रहेको कार्यक्रममा मतदातासँग उम्मेदवारहरूले गाउँको विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा त्यहाँका स्थानीयले चौबासडाँडाबाट जिल्लाको कोशीपारी, तेमाल, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा लगायतका स्थानहरु सजिलै देख्न सकिने भएकाले दृश्यावलोकन स्तम्भ निर्माण गरी पर्यकीयस्थलको रुपमा विकास गर्न आग्रह गरेका थिए ।

Google search engine