‘संविधान ध्वस्त पार्न खोज्नेलाई भोट किन ?’ : कृष्णप्रसाद सापकोटा

0
59

१५ कात्तिक २०७९
बनेपा ।

नेकपा (एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य कृष्ण प्रसाद सापकोटाले प्रतिनिधि सभा र प्रदेश सभास सदस्य निर्वाचनमा संघीयता विरोधी र संविधान ध्वस्त पार्न खोज्ने पार्टीका उम्मेदवारलाई भोट दिनुको औचित्य नरहेको बताएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनले आज मंगलबार बनेपा नगरपालिका १ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सापकोटाले सिंहदरवारको अधिकारलाई जनताको नजिकको सरकार स्थापना गरेको संघीयताको विरोध गर्ने उम्मेदवारलाई जनताले भोट दिनु भनेको प्राप्त उपलब्धि गुमाउन दिनु सरह भएको बताएका हुन् ।

अहिलेको निर्वाचन संविधानको कार्यान्वयन र प्राप्त उपलब्धिको रक्षा गर्दै विकास र समृद्धिको लागि भएकोले त्यसको नेतृत्व गर्ने बाम गठबन्धनलाई जिताउन आवश्यक रहेको उनले बताए ।

अहिले सामान्य अवस्था नभएर गणतन्त्र र लोकतन्त्रको निम्ति जेल, नेल र यातना व्यहोरेर प्राप्त गरेको उपलब्धिलाई एमालेले ध्वस्त पार्न खोजेको अवस्था
रहेकोले अबको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनको विजयी आवश्यक रहेको उनको भनाइ छ । ‘७० बर्ष लगाएर प्राप्त गरेको संविधानलाई जोगाउन सकेनौ भने सारा उपलब्धि गुम्नेछ’ उनले भने, ‘विगतमा बलिदानीको जगबाट प्राप्त गरेको संविधान समाप्त गर्ने काम एमाले अध्यक्ष केपी ओली र हामीले नै भोट दिएर जिताएको मान्छेहरुबाट भएकोले अब त्यस्तालाई चिन्न आवश्यक छ ।’

माधव कुमार नेपाल प्रधानमन्त्री र आफु संविधान सभा सदस्य बन्ने बेलामा काभ्रेपलाञ्चोकको पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज) बनाउने भनेर गरेको निर्णयलाई ध्वस्त गर्ने काम एमालेबाट भएको सापकोटाको आरोप छ । त्यस्तै सूर्यविनायक धुलिखेल सडक खण्डलाई ६ लेनको बनाउने जापान सरकारले गर्न लागेको सहयोग समेत केपी ओली सरकारले गर्न नदिएको उनले बताए ।

एमाले परमादेशी पार्टी
चुनावी भेटघाट कार्यक्रममा नेता सापकोटाले एमाले आफै परमादेशी पार्टी भएको बताए । एमालेले गठबन्धनलाई परमादेशी भनेर लगाएको आरोपको खण्डन गर्दै उनले कम्युनिष्ट पार्टीलाई फुटाएर तीन वटा पार्टी बनाउँदै एमालेमा फकिर्ने ओली आफै परमादेशी पार्टीको अध्यक्ष बनेको बताए । संविधानले विकेन्द्रिकृत गरेको अधिकारलाई ओली नेतृत्वको सरकारले केन्द्रिकृत गर्दै अदालतमाथि नै सेटिङ गरेर पार्टी फुटाएको नेता सापकोटाको भनाई छ । एमालेका नेताहरुले आफैले बनाएको घोषणापत्रको सामान्य काम पनि कार्यान्वयन गर्न नसक्ने पार्टीले विकासको मुल फुटाएको भनेर भ्रम फैलाउनु हास्याँस्पद भएको सापकोटाको टिप्पणी छ । उनले गोकुल बाँस्कोटाले जितेको बेलामा बनाएको घोषणापत्रमा प्रत्येक टोलमा ‘फ्रि वाईफाई सेवा’ उपलब्ध गराउने भनेर लेखिएको भएपनि उनै व्यक्ति सञ्चारमन्त्री हुने वेलामा कार्यान्वयन गर्न नसकेको बताए ।

काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार शिव प्रसाद हुमागाई, प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार कञ्चनचन्द्र बादे, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार मिना तामाङ, प्रदेश सभातर्फका समानुपातिक उम्मेदवार भोला प्रसाद अर्याल लगायतको उपस्थिति रहेको कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन दलका नेताहरुको सहभागिता रहेको थियो ।

Google search engine