काभ्रेको सबै निर्वाचन क्षेत्र गठबन्धनको पक्षमा हुन्छः सूर्यमान दोङ

0
68

काभ्रे ।

नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य एवम काभ्रे निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्यमान दोङ (लालध्वज)ले आसन्न निर्वाचनमा आफूसहितको टिम विजयी बन्नेमा ढुक्क रहेको बताएका छन् । पूर्व उर्जा राज्य मन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य उम्मेदवार दोङले चुनावी घरदैलोको क्रममा यस्तो बताएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका बाम लोकतान्त्रिक गठबन्धन एकताबद्ध भएर चुनावी अभियानमा लागेको र मतदाताबाट समेत सोचेभन्दा राम्रो प्रतिक्रिया पाएकोले चुनाव हार्नेमा कुनै डर नभएको उनले बताए । गठबन्धनका उम्मेदवारहरुले पहुँचमा हुँदा जनताको लागि राम्रा कामहरु गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दाबी गरे ।

उनले भने, ‘हामीले जनतालाई नराम्रो लाग्ने कुनै काम पनि गरेको छैन, हामीले विगतमा पनि जित्दै आएको क्षेत्र हो । त्यसैले डर छैन । मतदाताबाट धेरै राम्रो प्रतिक्रिया पाएको छ ।’ उनले थपे, ‘घरदैलो कार्यक्रममा आम मतदाताहरु सत्ता गठबन्धन र विशेषगरी आफूसँग खुशी र सन्तुष्ट रहेको पाए ।’

मंसिर ४ को निर्वाचनलाई लक्षित गरी विभिन्न क्षेत्रका प्रतिनिधि र प्रदेश सभा उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारका लागि यतिबेला घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । उनीहरु मतदाताको घरघरमा पुगेर भोट माग्न व्यस्त छन् । जिल्लाको सबै स्थानमा पुगिसकेका उम्मेदवार दोङ मंसिर ४ आउन केहि दिन मात्र बाँकी रहँदा अहिले तेमालको घरदैलोमा केन्द्रित छन् ।

Google search engine