१५ फागुन २०७९,
काठमाडौं ।
आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ । आज सोमबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएको हो ।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रन बनाएर आउट भए । बलिङतर्फ हङकङका ड्यानियल मोर्गन मापले १ विकेट लिए ।
यसअघि यूएईमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६ ओभर ३ बलमा १ सय २० रन बनाउँदा अलआउट भयो । हङकङका लागि पार्थ भगवतले सर्वाधिक ३६ रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले २/२ विकेट लिए ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । नेपालले अब चौथो खेलमा २८ तारिख मलेसियाको सामना गर्ने छ ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।