स्वर्णिम वाग्लेले छाडे कांग्रेस, पार्टी नातावादको गिरोहमा परिणत भएको आरोप

0
17

१६ चैत २०७९,
काठमाडौं ।

अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वाग्लेले ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले कांग्रेसमा बसेर ३० वर्षदेखि परोक्ष र गएको १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, विमर्श र प्रशिक्षण एवम् अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको स्मरण गरेका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाउनका लागि स्वर्गीय सभापति सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा दुवैले दिएको जिम्मेवारीकोसमेत प्रशंसा गरेका छन्।

पार्टी छाड्दै वाग्लेले पार्टी नातावादको गिरोहमा परिणत भएकोसमेत आरोप लगाएका छन्। पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको उनले लेखेका छन् ।

उनले अब कांग्रेस कम्युनिस्टका असल व्यक्ति, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवम् विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने उल्लेख गरेका छन् ।

सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० सालको सुरुवातसँगै वाग्लेले आफू नयाँ सार्वजिक भूमिकामा सक्रिय हुने उद्घोषसमेत गरेका छन्।

Google search engine