नीति तथा कार्यक्रममा स्वास्थ्यः ओपीडी सेवा १२ घण्टा सञ्चालन हुने

0
13

५ जेठ २०८०,
काठमाडौं ।

सामुदायिक अस्पतालमा १२ घन्टा ओपीडी सञ्चालन हुने भएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजानिक गर्दै अबदेखि ओपीडी सेवा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने जनाएको हो ।

त्यसैगरी स्वास्थ्य बीमा कार्यक्रमलाई पनि पुनरावलोकन गर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेपछि सरकारले बीमालाई थप व्यवस्थित गर्न पुनरावलोकन गर्न लागेको हो ।

सरकारले आधारभूत अस्पतालहरुमा एकजना एमडीजीपी चिकित्सकसहित एकजना महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तिमा ३ जना मेडिकल अधिकृत र आवश्यक नर्स र प्राविधिक जनशक्तिसहित आधारभूत उपचार सेवा उपलब्ध गराउने भएको छ ।

यसैगरी सरकारले चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्ठानहरुलाई एकीकृत छाता ऐन अन्तर्गत सञ्चालन गर्ने नीति लिएको छ । चिकित्सा शिक्षालाई एकीकृत र योजनाबद्ध रुपमा विस्तार गर्न यस्तो नीति लिएको हो ।

एकीकृत छाता ऐन बनाउनसो सम्बन्धी विधेयक संसदको यसै अधिवेशनमा पेस गरिने भएको छ । सरकारले एकीकृत प्रतिष्ठान अन्तर्गत सबै प्रदेशमा मेडिकल कलेज स्थापना गरिने प्रदेश र क्षेत्रीय अस्पतालहरुको स्तरउन्नती गरी शिक्षण अस्पतालको रुपमा विकास गरिने सरकारको नीति रहेको छ ।

सरकारले सबै संघीय अस्पताल र निजामती अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने नीति लिएको छ । त्यसैगरी गेटा मेडिकल कलेजलाई सरकारले यही वर्षदेखि सञ्चालनमा ल्याएको भएको छ ।

Google search engine