खानीखोलाका जेष्ठ नागरिकलाई छाता र लौरो

0
10

६ जेठ २०८०,
खानीखोला, काभ्रे ।

काभ्रेको खानीखोला गाँउपालिकाका जेष्ठ नागरिकहरुलाई छाता र टेक्ने लौरो वितरण गरिएको छ । गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष निशान मोक्तानले वडाभित्रका ६३ जना जेष्ठ नागरिकलाई छाता र लौरो वितरण गरिएको जनकारी दिए ।

उनका अनुसार वडाभरि रहेका जेष्ठ नागरिकहरुलाई वर्षाद् लक्षित गरी पानी पर्दा ओत लाग्ने छातासँगै हिँडडुल गर्न सहाराका लागि लौरो वितरण गरिएको हो । ‘जेष्ठ नागरिकहरुलाई पानी पर्दा ओत लाग्ने छाता र हिड्डुल गर्न सहज होस् भनी लौरो वितरण गरिएको छ ।’ वडाध्यक्ष मोक्तानले भने, ‘वडाको सानो सहयोगले उहाँहरु (जेष्ठ नागरिक)को मुहारमा देखिएको खुशीले मलाई सन्तुष्ट बनाएको छ । अझै केही गर्ने उर्जा थपेको महसुस गरेको छु ।’

कार्यक्रममा खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले ६० वर्ष नाघेका बृद्धबृद्धाको घुम्ती शिविरमार्फत् नियमित मासिक रुपमा स्वास्थ्य परिक्षण लगायतका कार्यबाट गाउँपालिका सरकार नागरिक समस्या समाधान गर्ने साझा चौतारी बन्ने उद्देश्यले अघि बढिरहेको अवस्थामा वडाले छाता र लौरो वितरण गरेकोप्रति खुशी व्यक्त गरे । उनले आगामी दिनमा गाउँपालिकाले जेष्ठ नागरिकको पक्षमा थप कार्यक्रम ल्याउने बताए ।

वडाध्यक्ष मोक्तानले कान्छिमाया तामाङ फाउन्डेशनको सहयोगमा खानीखोला–४ स्थित् जगथलीमा एक कार्यक्रमबिच जेष्ठ नागरिकहरुलाई छाता र लौरो वितरण गरिएको बताए । आवश्यकताको आधारमा अन्य उमेर समूहका मानिसलाई पनि लट्ठी प्रदान गर्ने उनको भनाई छ ।

Google search engine