१२ जेठ २०८०,
काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्को एक आरोपी पक्राउ परेकी छिन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको जनाइएको छ ।
महर्जन पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले १७ जनालाई हिरासतमा लिएको छ। यस प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत १६ जना पक्राउ परिसकेका थिए ।
महर्जन यो घटनाका एक जना आरोपी केशव तुलाधरकी श्रीमती हुन् । उनको नामको खातामा पीडितहरुबाट उठाइएको रकम आएको देखिएपछि उनलाई प्रहरीले प्रतिवादी बनाएको थियो ।
यो प्रकरणमा प्रहरीले दुई दिनअघि ३० जना आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ । किर्ते, संगठित ठगी र राज्यविरुद्धको कसूरमा मुद्दा चलाइएकाहरु विरुद्ध जिल्ला अदालत, काठमाडौंमा थुनछेक बयान जारी छ ।