२१ बैशाख २०७९
काठमाडौं ।
तेस्रो टी–२० अभ्यास खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य नेपालले २५ बल बाँकी छँदै २ विकेटको क्षतिमा पछ्याएको हो ।
नेपाललाई जीत दिलाउन आसिफ शेखले नटआउट रहँदै ८७ रन बनाए । उनले यसक्रमममा १३ चौका र १ छक्का प्रहार गरे । उनलाई ओपनर कुशल भुर्तेलले ३४ रन बनाउँदै साथ दिए । त्यस्तै, बसिर अहमदले १० रनको योगदान दिए ।
यसअघि रोय काइयाको ४९ रनको मतले जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । त्यस्तै, तादिवानासे मारुमानीले २७ तथा लुक जोङवेले २३ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले २ तथा बसिर अहमद र सोमपाल कामीले १–१ विकेट लिए ।
योसँगै तीन खेलको शृङ्खला एक–एकको बराबरीमा सकिएको छ । यसअघि पहिलो टी–२० खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।
टी–२० शृङ्खलापछि नेपाल र जिम्बावेबीच तीन खेलको एकदिवसीय शृङ्खला पनि हुँदैछ । २३ गते शुक्रवार पहिलो एकदिवसीय, २४ गते शनिवार दोस्रो र २६ गते सोमवार तेस्रो एकदिवसीय खेल हुनेछ ।