२१ बैशाख २०७९
काभ्रे ।
काभ्रेको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । आज दिउँसो भारतीय पर्यटक बोकेको मिनीबस र टाटासुमो एक अपसमा ठक्कर खाँदा ५ जनाको मृत्यु हुनुको साथै १८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौंबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमो बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका – ११ स्थित बढुवेशीमा एकआपसमा ठोकिँदा टाटासुमोमा सवार पाँचको मृत्यु भएको हो ।
मृत्युहुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, सुनकोसी गाउँपालिका १ की ४४ वर्षीया प्रमिला नेपाली, रामेछापको खाँडादेवी गाउँपालिका ३ की सम्झना भुसाल र उनका ६ वर्षीय छोरा संगीत भुसाल र कमलामाई नगरपालिका ४ स्थायी घर भएका जिप चालक हरिबहादुर वल रहेका छन् ।
दुर्घटनामा परी घाइते भएका अन्य १८ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए ।