४ जेठ २०७९
काभ्रे ।
काभ्रेको मण्डनदेउपुर नगरपालिकामा मतगणना जारी छ। हालसम्म वडा नम्बर १,२,३, ४, ५, ६, ७, ८, ९ र १० मा गणना सकिएर अन्तिम परिणाम प्राप्त भइसकेको छ।
वडा नम्बर १,४,५ र ७ मा एमाले, २, ३ र ६, ९ र १० मा नेपाली कांग्रेसले जित हात पारेका छन्। यस्तै ८ नम्बरमा भने माओवादी केन्द्रले जितेको छ। यस वडामा ३ जना सदस्य कांग्रेसले जितेको छ भने एक जना माओवादी केन्द्रले जितेको छ ।
अहिले वडा नम्बर ११ र १२ को मतगणना जारी छ।
प्राप्त पछिल्लो जानकारी अनुसार मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टोकबहादुर वाइवा अगाडि छन् । उनले ८०५८ मत ल्याउँदा एमालेका विदुर सापकोटाले ६८६२ मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीका मुना तामाङले २३९ र राप्रपाकी हिरा बजगाइँले २१२ मत पाएका छन् ।
यस्तै उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले ९४१८ मत ल्याएर अगाडि छन् । एमालेकी सरिता ढकालले ५८०७ मत ल्याएकी छिन्। यहाँ २ वटा वडाको गणना बाँकी रहँदै उपमेयरमा विष्णुमणि नेपाल विजयी भइसकेका छन् । किनकी अब बाँकी वडामा ३५३१ मात्र मत छ । जबकी नेपालको मतान्तर नै ३६११ रहेको छ ।
उपमेयरमा नेपाल मजदुर किसान पार्टीका पूर्णसिं तामाङले २५८ मत पाएका छन् ।
मण्डनदेउपुरमा १२ वटा वडाहरू रहेका छन् भने यहाँ २१ हजार ९३५ मत खसेको छ।