६ जेठ २०७९
काभ्रे ।
काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भगवान अधिकारी विजयी भएका छन्।
जम्मा खसेको १० हजार ७ सय ३४ मतमध्ये अधिकारीले ६ हजार १९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका कमल प्रसाद तिमल्सिनाले ३ हजार १ सय ६० मत पाए ।
पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका भगवान अधिकारी लामो समयदेखि राजनीतिमा सक्रिय छन् ।
केही समय प्राध्यापन पेशामा बिताएका अधिकारी नेविसंघको पूर्व केन्द्रीय सदस्य तथा नेविसंघ काभ्रेको पूर्वजिल्ला सभापतिका समेत भएका थिए ।
त्यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी तारा राना तिमल्सिना ४ हजार ४ सय ९८ मतसहित विजयी भइन्। उनका निकटतम प्रतिपस्र्धी एमालेकी सरला केसीले ३ हजार ५ सय ७३ मत ल्याइन् ।
गाउँपालिकामा एमालेले वडा ३ मा एउटामात्रै सदस्य पद जित्यो। १,२, ४ र ६ मा कांग्रेसको प्यानलै विजयी भयो।
त्यसैगरी वडा ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा वडाध्यक्षमा विजयी भए। यस वडामा कांग्रेसका दुई तथा स्वतन्त्रबाट दुई जना सदस्य निर्वाचित भए।