नमोबुद्ध १० का वडाअध्यक्ष उपाध्यायद्वारा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

0
54

१७ जेठ २०७९

नमोबुद्ध ।

नमोबुद्ध नगरपालिका वडा नं. १० का नवनिर्वाचित वडाअध्यक्ष रामकृष्ण उपाध्यायले असहाय र जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेका छन् ।

सोमबार वडा कार्यालयमा पदवहाली गरेलगत्तै नमोबुद्ध १० मा रहेको बाल उज्ज्वल माविमा आयोजित कार्यक्रममा वडाअध्यक्ष उपाध्यायले स्वर्गीय पिता छविलाल उपाध्यायको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

उनले अक्षयाकोषका लागि व्यक्तिगत तर्फबाट १ लाख ५१ हजार रुपैयाँसमेत बाल उज्ज्वल माविलाई हस्तान्तरण गरेका छन् । उक्त अक्षयकोषको रकमबाट बाल उज्वल माविमा अध्ययनरत अभिभावकबिहीन विद्यार्थीका लागि खर्च गरिने उनले बताए । उपाध्याय उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् ।

कार्यक्रममा वडाअध्यक्ष उपाध्याय एवं उनका भाई एवं जनक क्याम्पसका प्रमुख हरिहर अधिकारीले संयुक्तरुपमा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लालकाजी लामा र प्रधानाध्यापक नारायणभक्त श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए ।  कार्यक्रममा वडाअध्यक्ष उपाध्यायसहित नवनिर्वाचित वडा सदस्यहरुलाई विद्यालयको तर्फबाट सम्मान पनि गरिएको थियो ।