२८ जेठ २०७९
नुवाकोट ।
नुवाकोट ककनी गाउँपालिका ७ स्थित त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रसारण लाइनमा झुण्डिएका व्यक्तिलाई ओरालिएको छ । नेपाली सेनाको मद्दतले बेलकोटगढी नगरपालिका १३ का माइला विकलाई ओरालिएको हो ।
स्थानीय, जनप्रतिनिधि, प्रहरी लगायतले तल झर्न आग्रह गर्दा पनि दिनभर तारमै बसेर तनाव दिएका विकलाई नेपाली सेनाको सहयोगमा उद्धार गरिएको हो । उनको उद्धारको लागि तालिमप्राप्त सेनाको टोली हेलिकप्टरसहित खटिएको थियो । तर, अन्ततः सेनाका जवानले टावरबाट चढेर प्रेमबहादुरलाई ओरालेको हो ।
नुवाकोटकै बेलकोटगढी नगरपालिका १३, घलेगाउँका विक आज बिहान १० बजे विद्युत पोलमा चढेर नाङ्गो तारमा पुगेका थिए । यसबीचमा प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले तल झर्न गरेको आग्रहलाई उनले अस्विकार गरेका थिए । उनी तारमा झुण्डिएर बसेकाले त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको उत्पादन बन्द गर्नुपरेको थियो । आयोजना बन्द हुँदा नेपाल विद्युत प्राधिकरणले लाखौं घाटा व्यहोर्नुपरेको जनाएको छ ।