आगामी आर्थिक वर्षका लागि पनौतीको बजेट १ अर्ब ६० करोड १३ लाख, नगरलाई बेरुजु शून्य बनाउने नीति

0
91

१० असार २०७९
पनौती ।

पनौती नगरपालिकाले आ.व ०७९/८० का लागि कूल १ अर्ब ६० करोड १३ लाख रुपैयाको बजेट प्रस्तुत गरेको छ । नगरसभामा उपप्रमुख गिता वञ्जाराले १ अर्ब ६० करोड १३ लाख रुपैयाको अनुमानित आय व्यय विवरण पेश गगेकी हुन् । प्रस्तुत वजेट अनुसार आयतर्फ, आन्तरीक आयबाट ४३ करोड ५० लाख ३९ हजार, राजस्व बाँडफाँडबाट २४ करोड ५० लाख ४६ हजार अनुमान गरिएको छ। यसैगरि वित्तीय समानीकरण अनुदानबाट १६ करोड, सशर्त अनुदानबाट ३२ करोड ३५ लाख र समपुरक अनुदान १ करोड रुपैया आय हुने जनाइएको छ।

बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुदान १ करोड ५४ लख ९९ हजार, सशर्त अनुदान ३ करोड २२ लाख १६ हजार, समपुरक अनुदान ३ करोड र अन्य आयमा मौज्दात बाँकी ३३ करोड ७० लाख उल्लेख छ।

खर्च तर्फ विषयगत शाखाहरुको कार्यक्रम समेत गरि चालु खर्च ७४ करोड २८ लाख ८० हजार पुजिगत खर्च तर्फ ८५ करोड, ४९ लाख, २० हजार र वित्तिय व्यवस्था ३५ लाख उल्लेख छ ।

बेरुजु शून्य नगरपालिका बनाउने नीति

पनौती नगरपालिकाले वित्तिय अनुशासन कायम राख्दै बेरुजु शून्य नगरपालिका बनाउने नीति लिने जनाएको छ। अम्दानी भन्दा ३३ करोड ७० लाख बढी खर्चको बजेट ल्याएको नगरमा अघिल्लो बर्षको भुक्तानी गर्न बाकी दायित्व मात्रै २० करोड रुपैया रहेको छ।

शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख रामशरण भण्डारीले पनौती नगरलाई बेरुजु शुन्य बनाउने बताए । विषय विज्ञहरुको ‘विज्ञ समुह’ बनाई नगरपालिकाले गर्ने काम कारबाही अघि बढाउने नीति अवलम्बन गरिने बताँउदै नगरप्रमुख भण्डारीले पुर्वाधार विकासको क्रममा पनौतीको बसपार्क निर्माण, रंगशाला निर्माण, पुण्यमाता खोला किनारमा करिडोर निर्माणमा विशेष ध्यान दिने जिकिर गरे ।

मानव संशाधनको उच्चतम उपयोग गर्ने, किसान परिचयपत्रको व्यवस्था गर्ने, उत्पादनको योगदानको आधारमा कृषकलाई अनुदान उपलब्ध गराउने देखि प्राकृतिक स्रोत साधनको दोहन रोक्ने सम्मको नीति ल्याइएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन जस्ता विषयलाई प्राथमिकतामा राखेको पनौती नगरले आधारभुत स्वास्थ्य सेवालाई घरदैलोमुखी ‘स्वास्थ्य जेष्ठ नागरिक’ कार्यक्रम संचालन गर्ने जनाएको छ। स्वास्थ्य संस्थामै सुत्केरी हुने दरलाई शत प्रतिशत पु¥याउन प्रोत्साहनका थप कार्यक्रम ल्याइने नगरप्रमुख भण्डारीले बताएका छन् ।

Google search engine