१६ असार २०७९
काठमाडौं ।
सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन् ।
६४ औं संसद् दिवसको अवसरमा पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौ कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरू लागेको आरोप लगाए ।
‘आयल निगमलाई पनि यस्तो व्यापारीको हातमा दिने चलखेल भइराखेका छन् रे,’ उनले भने, ‘यो चलखेलको पछाडि करोड होइन, अर्बौंको हात हुनसक्छ, त्यति कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ? त्यो आजीवन राजा हुने भइहाल्यो नि ’ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यामहरूले अघि ल्याउनुपर्ने बताए ।
वरिष्ठ नेता पौडेलले किसानहरूलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरे । उनले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरूले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको बताए ।